बाढीपहिरोबाट ७७ को मृत्यु, २७ बेपत्ता, २२ घाइते (विवरणसहित)

बाढीपहिरोबाट ७७ को मृत्यु, २७ बेपत्ता, २२ घाइते (विवरणसहित)

काठमाडौँ । चार दिनदेखि अविरल परेको वर्षाका कारण देशभर बाढी पहिरो जाने क्रम रोकिएको छैन । भने पूर्वी तराईका भुभागहरु जलमग्न बनेका छन् । हालसम्म देशभर बाढी, पहिरो र डुवानका कारण ७७ जनाले ज्यान गुमाइसकेका छन् । 

गृह मन्त्रालयले दिएको जानकारी अनुसार दिउँसो ३ बजेसम्ममा देशभर बाढीपहिरोका कारण ७७ जनाको मृत्यु भएको हो । त्यस्तै २७ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन् । तथ्यांक हेर्ने हो भने आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, बझाङमा २ , हुम्लामा ६, सोलुखुम्बु र प्यूठानमा १/१, धनकुटामा ७, मोरङमा १, सुनसरीमा २ र उदयपुरमा २ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर सबैभन्दा बढी बझाङमा २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा १, प्यूठानमा २ र इलाममा ३ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण २७ घर पूर्ण क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । त्यस्तै एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । त्यस्तै घर भत्किाएमा तत्काल रु १५–२० हजार दिइने दिने निर्णय गरेको छ भने सबै घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।