काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मनिने नेता कोमल ओलीलाई पार्टीको केन्द्रीय सदस्य बन्न नयाँ विधान तगारो भएको छ । हालै सम्पन्न एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्न योग्यता तोकेपछि वलीका लागि विधान तगारो बनेको हो ।
संशोधित नयाँ विधानलाई मान्ने हो भने नेता वली दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न पाउने छैनिन् । वली मात्रै नभई जसपाबाट एमाले प्रवेश गरेका शिवजी यादव र राजकुमार लेखी तथा पूर्व उपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्न पाउने छैनन् ।
एमालेको संशोधित विधानअनुसार महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष हुनेपर्नेछ । तर वलीको हकमा भने यी दुवै योग्यता पुग्दैन । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।
वली राप्रपाको एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएपनि एमालेको संशोधित विधानअनुसार भने केन्द्रीय सदस्य उम्मेदवार बन्न उनको योग्यता नपुग्ने देखिन्छ ।
एमालेमा प्रवेश गरेका अन्य नेताहरुको हकमा भने पूर्ववत् पार्टीको इतिहासलाई कायम गरिने भएकाले उनीहरु एमाले केन्द्रिय सदस्य बन्न पाउनेछन् । जस्तै उदाहरणका लागि माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ टोपबहादुर रायमाझीलगायत भने एमालेमा केन्द्रीय सदस्य बन्न पाउनेछन् ।
गत भदौ १५ देखि १७ सम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने जनाएको छ । संशोधित विधानको धारा ६३ को उपधारा १ मै महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था राखिएको छ ।