सिटिजन्स बैंक लुटपाट गर्ने व्यक्ति हत्यारा पनि !

सिटिजन्स बैंक लुटपाट गर्ने व्यक्ति हत्यारा पनि !

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ स्थित सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न एक व्यक्ति हत्या अभियोगमा फरार अभियुक्त भएको खुल्न आएको छ ।

गत असोज २५ गते कर्सियास्थित सिटिजन्सको शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मध्ये एक बिजय सहनी (बहरदार)माथि हत्या अभियोग लागेको छ । 

मोरङको कटहरीमा बस्दै आएका बिजयले उनकै साथीको हत्या गरेको अभियोग छ । एक वर्षअघि भारत अररीया जिल्ला गडुरापुर नरपथगञ्ज थाना नजिकै बस्ने २५ वर्षीय शिवशंकर कुमार ‘सिन्टु’को गोली हानी हत्या गरेको आरोप छ ।

२०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो । घटनापछि मृतकका हजुरबुवाले विजयसहित नौजनाले सिन्टुको हत्या गरेको भनि किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार विजय बैक लुटपाट प्रकरणमा पक्राउ परेका हुन् ।

लुटपाटमा संलग्न ८ मध्ये तीन जनालाई प्रहरीले सोही दिन भारततर्फ भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो ।