पहिराेका कारण सुदूरपश्चिममा दुईकाे मृत्यु

पहिराेका कारण सुदूरपश्चिममा दुईकाे मृत्यु

काठमाडौं । लगातार परेको वर्षापछि आएको पहिरोका कारण सुदूरपश्चिममा दुइ जनाले ज्यान गुमाएका छन् । अर्का एक जना भने घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण डडेल्धुरामा  एक र कालिकाटेमा एक जनाले ज्यान गुमाएका हुन् । 

पहिरोले पुरेर जिल्लाको डडेलधुराकाे गन्यापधुरा गाउँपालिका –१ स्थित भात्काडामा सन्ध्या फेन्सी स्टोर चलाएर बसेका ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको मृत्यु भएको हो ।

सोमबार राति घरमाथिबाट आएको पहिरोले घर पुर्दा अवस्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । अवस्थीका श्रीमती र छोराछोरीको भने स्थानीयले उद्धार गरेका छन् । पसल पूर्ण रुपमा क्षति भएको छ ।

कालिकोटको महाबै गाउँपालिका-७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी १८ वर्षीया छाेरी स्मृति अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ । साथै उनकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन् । 

त्यस्तै लगातारको वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अहिले ठाउँ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोको जानकारी प्राप्त भएको ठाँउमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि पुगेको तथा त्यस्ता जानकारी नै प्राप्त नभएका स्थानहरु धेरै भएको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण सुदूरपश्चिममा टेलिफोन, विद्युत, इन्टरनेटलगायत सम्पूर्ण सेवा ठप्प भएका छन् ।