लगातारको वर्षाले सेती र महाकाली उर्लिए, देशभरकाे जनजीवन प्रभावित

लगातारको वर्षाले सेती र महाकाली उर्लिए, देशभरकाे जनजीवन प्रभावित

डोटी । डोटीको सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरामा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२, दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए । उनले भने, “नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ ।”

बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, “बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौँ ।”

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारीसाधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्ती समेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताइन् । उनले भनिन्, “सेतीमा निकै ठूलो बाढी आएको छ । बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ । हामी रातभरि सुत्न पाएका छैनौँ ।”

जिल्लामा अहिले पनि भारी बर्सात भइरहेको छ । बर्सातका कारण सोमबार दिउँसोदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दिपायलका भरतबहादुर द्वारियाले जानकारी दिए । उनका अनुसार यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारणलाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी परिचालन गरिएको भए पनि वर्षा नरोकिएका कारण मर्मत गर्न सकिएको छैन ।

डोटीको गोपघाट र दिपायलस्थित समुहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह अधिक बढेको छ । नदीले यहाँका धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको शिखर नगरपालिका–२, कालागाढका स्थानीय तेजबहादुर बोगटीले जानकारी दिए ।

सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसित बनेका छन् । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेषगरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । उनले भने, “जिल्लाका सबै ठाउँमा बाढी आएको छ, विशेषगरी सेती नदीमा पानीको बहाव अधिक भएकाले नदी आसपास बस्ती भएका नागरिकलाई सर्तक रहन आग्रह गरेका छौँ ।”

लगातारको बर्सातका कारण बाढीपहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिइएको समेत प्रजिअ विष्टले जानकारी दिए ।

यसैगरी, नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरीचौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विपद् तथा नदीबाट हुने खतराबाट जोगिन चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । बर्सात सुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारीसाधन गुड्न नसक्ने अवस्थाका भएका छन् ।

उता, जिल्लाको जोरायलमा रहेको कर्नासो नदी तथा बीपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीका कारण अहिलेसम्म जिल्लामा मानवीय क्षति भने नभएको जनाएको छ । 

यता लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९, खल्लादेखि भीमदत्त नगरपालिका–१३, झोलुंगे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए । “निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँचमार्ग ९भाइरल रोड० नदीले कटान गरिरहेको छ,” प्रवक्ता न्यौपानेले भने, “पारि दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।”

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता, दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ । महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनानुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए ।

लगातारका वर्षाका कारण कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।