बोक्सी आरोपमा ४२ वर्षीया महिलालाई मलमुत्र खुवाउने चार जना पक्राउ

बोक्सी आरोपमा ४२ वर्षीया महिलालाई मलमुत्र खुवाउने चार जना पक्राउ

महोत्तरी । बोक्सी आरोपमा महोत्तरीमा एक महिलालाई कुटपीट गरी मलमुत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा गत बुधबार कुटपिट गरी मलमूत्र खुवाई कपाल समेत खौरिदिएका थिए । 

महोत्तरी प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बित्तिकै सिकिन्दर महतोकी १३ वर्षीया छोरी  काजल कुमारी रुन थालिन् । त्यसपछि सिकिन्दरसहित अन्यले सुकमरिया देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाई कपालसमेत खौरिदिएका थिए । 

प्रहरीले घटनास्थलबाट पीडितलाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतलसमेत बरामद गरेको छ ।