विमानस्थलमा मन्त्री आलेको छड्के : अनियमितताप्रति चनाखाे रहन ट्रमिनल प्रमुखलाई निर्देशन

विमानस्थलमा मन्त्री आलेको छड्के : अनियमितताप्रति चनाखाे रहन ट्रमिनल प्रमुखलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सोमबार विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । अचानक पुगेको मन्त्री आले विमानस्थलमा छड्के पुगेका थिए । 

मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख पुर्ण चुडाललाई भवन भित्र रहेको क्याफेले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री हुने गरेको गुनासो सेवाग्राहीबाट आएको भन्दै त्यसबारे निगरानी गर्न निर्देशन दिए । त्यस्तै विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरे लगायतका क्रियाकलाप पाइएकाले त्यस्ता कमी कमजोरीमा पनि ध्यान दिन मन्त्री आलेले निर्देशन दिए । 

आइतबार नै काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेको विषयमा पनि मन्त्री आलेले नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ मागेका छन् । यसमा दोषीलाई कारवाही गर्ने पनि उनले बताए । आइतबार छुटेका ७ यात्रुहरु सोमबार नौ बजेको उडेका छन् ।

 मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए । उनले आफ्नो कार्यकालमा वायुसेवा निगमलाई  माथि उठाउने काम गर्ने पनि विश्वास दिलाए ।