कर्णाली । दशैंको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार ती दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको छ।
यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ। नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए। यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्।
त्यस्तै, मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना भए। प्रदेशमा दशैं अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ।