तीन किशोरीद्वारा नौ युवकविरुद्ध सामुहिक बलात्कारको आरोप, तीन पक्राउ

तीन किशोरीद्वारा नौ युवकविरुद्ध सामुहिक बलात्कारको आरोप, तीन पक्राउ

सिन्धुली । दसैंको टीकाको दिन आफुहरुलाई नौ जनाको समूहले सामूहिक बलात्कार गरेको भन्दै सिन्धुलीको कमलामाई नगरपालिकाका–३ का तीन किशोरीहरुले प्रहरीमा उजुरी दिएका छन् । आफन्तकोमा टिका लगाएर घर फर्किने क्रममा आफूहरु कमलामाई नगरपालिका–५ को लब्दाहखोलामा आफुहरु बलात्कारको शिकार भएको उनीहरुको आरोप छ ।

पीडित किशोरीहरुका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । अन्य ६ जना फरार रहेको र उनीहरुको पनि खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रामभक्त भट्टराईले जानकारी दिए ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेका छन् । शनिवार राति उनीहरु बलात्कृत भएको थिए । पक्राउ पर्नेहरुमा २२ वर्षीय हिम लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगर रहेका छन् । 

उनीहरुमध्ये एक किशोरीमाथि पाँच जनासम्मले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । किशोरीहरुको मेडिकल जाँच गर्दा पनि उनीहरु बलात्कृत भएको रिपोर्ट आएको छ ।

अदालत बन्द भएकाले पक्राउ परेकालाई कारबाही गर्न हाललाई पक्राउ पूर्जी लिएको र खुलेपछि थुनामा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक भट्टराईले बताए ।