रुवी खानलाई तत्काल रिहा गर्न र अब धरपकड नगर्न सर्वोच्चको आदेश

रुवी खानलाई तत्काल रिहा गर्न र अब धरपकड नगर्न सर्वोच्चको आदेश

काठमाडौं । बाँकेकी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रहरीले काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ गरी नेपालगञ्ज पुर्‍याइएकी महिला अधिकारकर्मी खानलाई बिहीबार नै रिहा गर्न र पुनः धरपकड नगर्न अदालतले आदेश दिएको हो । 

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई तत्काल रिहा गर्न आदेश दिएको हो । रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चको आदेशमा भनिएको छ । 

पक्राउपछि अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

न्यायको खोजीमा २० दिन पैदल हिँडेर नेपालगञ्‍जबाट काठमाडौंको माइतीघर मण्डालमा आई धर्ना बसेका ११ महिलासहितको १४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

रुबीले बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दैआएकी थिइन् ।