मोतिपुर झडपः एक हजार बढी पेट्रोल बम फेला

मोतिपुर झडपः एक हजार बढी पेट्रोल बम फेला

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा चार जनाको ज्यान जाने गरी आइतबार झडप भएको थियो । उक्त क्षेत्रमा जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी र प्रहरीबीच दोहोरो झडप भएको थियो ।

झडपमा प्रहरीले चलाएको गोली लागेर चार जना सुकुम्बासीले ज्यान गुमाएका हुन् । घटनामा प्रहरी र सुकुम्बासी गरी दर्जनौ घाइते भएका छन् ।

स्थितीलाई नियन्त्रणमा लिन त्यहाँको स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको थियो । कफ्र्यु आजबाट हटाइएको छ । 

घटनापछि सशष्त्र प्रहरीले सो स्थानमा सर्च अभियान चलाएको थियो । घटनामा पेट्रोल बम प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

सर्च अभियानमा एक हजार भन्दा बढी थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ । घटना स्थल रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका सो मात्रामा पेट्रोल बम र हसिया, भाटा लगायत घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा १० जना गम्भीर घाइते भएका थिए ।

झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानवीन हुनुपर्ने चौतर्फी आवाजहरु उठिरहेका छन् ।