सुरक्षा गार्डलाई गोली हानेर बैंक लुट्ने तीन जना पक्राउ

सुरक्षा गार्डलाई गोली हानेर बैंक लुट्ने तीन जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको सिटिजन ब्याङ्कको शाखामा सुरक्षाकार्डमाथि गोली हानी बैंक लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार अपराह्न लुटपाट गर्ने क्रममा सुरक्षागार्ड शीतल कुँवर घाइते भएका छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

साप्ताहिक हाट लागेकाले भीडभाड रहेको कर्सिया बजारको ब्याङ्कमा पाँच जनाको हतियारधारी समूह प्रवेश गरेका थिए । उनीहरुले सुरक्षागार्डलाई गोली हानी बैंक लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई भाग्ने क्रममा तीन जनालाई हतियारसहित पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

बैंक लुटेर एउटै मोटरसाइकलमा तीन जना चढी भारततर्फ भाग्दै गरेको अवस्थामा उनीहरलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीन जनामध्ये दुई जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अन्य दुई जनाको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ब्याङ्कबाट कति रकम लुटियो भन्ने यकिन हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाएर बजार क्षेत्रमा प्रहरी परिचालन गरिएका वेला ब्यस्त बजारमा लुटपाट भएको छ ।