बुटवल झडपः प्रहरीको गोली लागेर तीनको मृत्यु, १४ घाइते

बुटवल झडपः प्रहरीको गोली लागेर तीनको मृत्यु, १४ घाइते

काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीलाई हटाउने क्रममा प्रहरीसँग भएको झडपमा तीन जनाको ज्यान गएको छ ।

सुकुम्बासीसँगको झडपका क्रममा तनावग्रस्त बनेको स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले प्रहरीले १९ राउण्ड अश्रुग्याँस हानेको थियो । सोही क्रममा प्रहरीको गोली लागी घाइते भएका तीन जनाको ज्यान गएको छ । घटनामा १४ जना घाइते भएको र गम्भिर तीन जनाको ज्यान गएको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

झडपपछि स्थितीलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । आइतबार अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जारी गरिएको कफ्र्य  पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरसम्मका लागि क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

स्थानीय प्रशासनले रातीको समयमा विगत तीन दिनदेखि सुकुम्बासकिो टहरा भत्काउँदै आएको थियो । गयराती पनि प्रहरीले घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । 

यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।