प्रधानमन्त्रीले गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाएको प्रचण्डको भनाई

प्रधानमन्त्रीले गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाएको प्रचण्डको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको मन्त्री मण्डलको विस्तारमा गैर साँसद भनिएका गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाएको कुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  खुलासा गर्नू भएको छ ।  । अध्यक्ष दाहालले चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै काँग्रेसको कोटाबाट  हमाललाई मन्त्री बनाइएको बताउँदै अहिले आएर अरुसंग जोडेर नानाभाती भन्नुको कुनै तुक नरहेको बताए ।

 

उनले सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था भएको स्पष्ट पारे । ‘यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ’ उनले भने, ‘यो नयाँ कुरा होइन ।’

 

अध्यक्ष दाहालले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको समेत बताए । उनले सरकार अहिले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउन र थाती रहेका विधेयकलाई अगाडि बढाउने कुरालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । 

 

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसिसी पास नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रिय सहमति र परिमार्जनबिना यो पास हुन सक्दैन ।’ संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै दाहालले भने, ‘पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।’

 

अब सरकारले एकचित्त भएर जनताको पक्षमा काम गर्ने कुरा उहाँले बताउनु भयो । अहिले कोरोनाको महामारी सकिनसकेको हुनाले हरेक नेपालीलाई कारोनाको खोप लगाउने सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।