विद्यार्थीले आत्महत्या गरेपछि प्रिन्सिपल पक्राउ

विद्यार्थीले आत्महत्या गरेपछि प्रिन्सिपल पक्राउ

नेपालगञ्ज । बाँकेमा १७ वर्षीया एक बालिकाले आत्महत्या गरेपछि स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । 

बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् । उनले सोसाइड नोट लेखेर आत्महत्या गरेपछि कसैसँग सम्बन्ध हुनसक्ने प्रहरीको अनुमान थियो । तर नोटमा लेखिएको ‘तपाइहरुको नाक काट्नु भन्दा मर्न उचित ठाने’ भन्ने बाक्यले अनुसन्धानका लागि थप सहज बनाइदिएको थियो । 

परिवारले एलिसाको फेसबुक एकाउन्ट खोलेर हेर्दा लामो समयदेखि स्कुलका प्रिन्सिपल दमन पाण्डेसँग लामोसमयदेखि उनीसँग कुराकानी भएको खुलेकाे थियाे । उनले मोवाइल, रिचार्ज किनिदिने तथा किताव ड्रेसहरु फ्रिमा मिलाइदिने भन्दै प्रलोभन देखाएको र तिमी मेरा लागि विशेष छौं, आइमिस यू जस्ता शब्दहरु पनि भेटिएको छ । पाण्डेले बालिकालाई यौन शोषण गरेको परिवारको दावी छ । परिवारले पाण्डेविरूद्द किटानी जाहेरी दिएका हुन् ।

प्रहरीले पाण्डेलाई जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा  पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । उनलाई जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान भइरहेको कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।