काठमाडौं । गठबन्धन सरकारमा सहभागी हुनका लागि नेपाली कांग्रेसले थप मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसमध्ये डा. मीनेन्द्र रिजाललाई रक्षा र दीलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्नेछन् । त्यस्तै नयाँ थपिएका मन्त्रीहरुमा उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक र उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बन्ने भएका छन् ।
कृष्ण सिटौला समूहबाट मन्त्री बन्न लागेका उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाइ मन्त्रालय दिन लागिएको हो । अहिले कानून मन्त्रीको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा पठाउन लागिएको कांग्रेस स्रोतले जनाएको छ ।
गठबन्धन सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीका मन्त्री समावेश गरेर आज सरकारलाई पूर्णता दिने तयारी गरिएको छ ।
देउवा प्रधानमन्त्री भएको झण्डै तीन महिना पुग्ला लाग्दा समेत मन्त्रिमण्डल गठन नभएको भन्दै उनी आलोचित बन्दै आएका छन् । सरकारले आज नै मन्त्रिमण्डल गठन गर्ने तयारी थालेको छ ।