मिटरब्याजमा लिएको पैसा तिर्न नसकेको भन्दै प्रहरीको शरणमा पुगे रेल्वेका ठेकेदार

मिटरब्याजमा लिएको पैसा तिर्न नसकेको भन्दै प्रहरीको शरणमा पुगे रेल्वेका ठेकेदार

कन्स्ट्रक्सन कम्पनी चलाउँदै आएका भरतपुर महानगरपालिका-१० का प्रकाश कार्की मिटरब्याजमा लिएको पैसा तिर्न नसकेको भन्दै प्रहरीको शरणमा पुगेका छन् ।  काठमाडौं-३२ कोटेश्वरमा  त्रिनेत्र साकार कन्स्ट्रक्सन रहेको उनको कम्पनी रौतहटमा रेलको ट्रयाक बेड निर्माणको सब-कन्ट्रयाक्टर हो।

दोलखा घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्दै आएका विदुर शर्मासँग उनले पटक-पटक गरेर २०७७ सालमा चार करोड ८३ लाख रुपैयाँ चलाएका थिए। शर्माले कार्कीलाई त्यसको साँवा-ब्याज गरेर १२ करोड ४६ लाख ८५ हजार रुपैयाँ तिराइसकेका छन्। रुपन्देहीको दुई करोड पर्ने जग्गासमेत शर्माले लिइसकेका छन्।

शर्मा यतिमा चित्त बुझाउँदैनन्। उनले थप १३ करोड ६५ लाख रुपैयाँ मागिरहेका छन्। यो रकमका लागि गरिमा विकास बैंक र नेपाल बैंकको दुई वटा चेकमा सही गराएका छन्। यी दुई वटा चेक लिँदा उनले जबरजस्ती बल प्रयोग र धाकधम्कीको सहारा लिएको पीडित पक्षको दाबी छ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १७ गते कार्कीले जाहेरी दिएपछि शर्माको खोजीमा प्रहरी लागेको छ। शर्मा भने अहिले मेडिसिटी अस्पतालमा उपचारमा छन्। ‘अस्पतालमा उपचार सकिएपछि हामी दुबै पक्षलाई राख्छौं, कसुर पुष्टि हुने आधार देखिए कानुनी कारबाही सुरू गर्छौं,’ सिंहले भने।

कारोबारको तनावले प्रकाश नियमित काम गर्न सक्ने अवस्थामा छैनन्। काठमाडौं मेडिकल कलेज र भरतपुर अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई ‘डिप्रेसन’ भएको बताएका छन्। ‘विभिन्न किसमका धम्की दिएर त्रासमा पारी बेइमानीपूर्वक आपराधिक तरिकाले असुल गराउन खोजेपछि दाइको अवस्था बिग्रँदै गएको मैले थाहा पाएँ, सोधीखोजी गर्दा उहाँले परिबन्धमा पारिएको भनेपछि प्रहरीमा गएको हुँ,’ रवीन्द्रले भने।

कार्कीका अनुसार शर्माले हिसाब मिटरब्याजमा जोडेका छन्। उनले एक करोडको एक दिनको ब्याज १ लाख रुपैयाँ असुल्ने गरेका छन्। कार्कीले प्रहरीमा बैंक स्टेटमेन्ट, जग्गा पास गराएको कागजहरू बुझाएका छन्। प्रमाणका लागि शर्माले लगेको चेकबुक झिकाउन, अनुसन्धानका लागि कुमारी मोहरा क्षेत्रीसमेतलाई झिकाउन कार्कीले प्रहरीसँग अनुरोध गरेका छन्।उनले जबरजस्ती पास गराएको कागजात र लगिएको चेकबुक फिर्ता गराइदिन पनि माग गरेका छन्।