मुख्यमन्त्री बन्ने तयारीमा दुई राजेन्द्र

मुख्यमन्त्री बन्ने तयारीमा दुई राजेन्द्र

काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटीका दुई जना राजेन्द्र प्रदेशको मुख्यमन्त्री बन्ने बाटोमा अघि बढेका छन् । सत्तारुढ गठबन्धन सरकारले दुई वटा प्रदेशको  मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएपछि दुई राजेन्द्रहरुको मुख्यमन्त्री बन्ने ढोका खुलेको हो । 

बालुवाटारमा आज भएको शीर्ष नेतृत्वहरुको छलफलमा यस्तो सहमति भएको पार्टी अध्यक्ष माधव कुमार नेपालले भने । बैठकपछि संचारकर्मीहरुसँग बोल्ने अध्यक्ष नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री समाजवादीलाई दिने सहमति भएको बताए । 

१ नम्बर प्रदेशको सरकार अल्पमतमा छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते प्रदेश सभाको नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने तयारी गरेकी छन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पक्षमा बहुमत नपुग्ने निश्चितजस्तै रहेको छ । 
त्यस्तै प्रदेश १ मा पनि मुख्यमन्त्री अल्पमतमा परेका भीम आचार्य आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् । 

बालुवाटारमा भएको सहमतिपछि समाजवादीबाट दुई राजेन्द्रलाई मुख्यमन्त्री बन्ने ढोका खुलेको हो । बाग्मतीमा पार्टी उपाध्यक्षसमेत तथा प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे भने प्रदेश १ मा सचिव राजेन्द्र राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । 

मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको एकीकृत समाजवादीलाई गठबन्धन सरकारले दुई प्रदेशको मुख्यमन्त्री दिएर फकाउने प्रयास गरेको छ ।