काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आगामी आइतबार विश्वासको मत लिने भएकी छिन् ।
प्रदेश सरकारले असोज २४ गते संसदको नियमित अधिवेशन बोलाउने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री शाक्यले पनि विश्वासको मत लिने तयारी भएको आर्थिक मामला तथा योजना मन्त्री रचना खड्काले जानकारी दिएकी छिन् ।
यसअघिका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले भदौ २ गते नियुक्ति लिएकी थिइन् । नेकपा एमाले विवादका कारण मुख्यमन्त्री बनेकै दिनबाट अल्पमतमा परेकी शाक्यले अहिले विश्वासको मत लिन लागेकी हुन् ।
बागमती प्रदेशमा एमालेको एकल बहुमत रहेकोमा एमालेबाट माधवकुमार नेपाल समूह छुट्टिएर नयाँ पार्टी गठन गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । साे प्रदेशमा मुख्यमन्त्रीका लागि नेता राजेन्द्र पाण्डेले दावी गरेका छन् ।