कांग्रेस नेताहरु भारत भ्रमणमा जाने

कांग्रेस नेताहरु भारत भ्रमणमा जाने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ । भारतसँगकोे सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार भारत प्रस्थान गर्न लागेको हो । 

भाजपाका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेस भारत जान लागेको हो । डा.महतसहित उक्त प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरू उदयशमशेर जबरा र अजय चौरसिया समेत रहनेछन् । 

भारत भ्रमणका क्रममा भाजपा र सरकारका उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतको नयाँ दिल्ली, लखनउ र बनारसमा उच्चस्तरीय राजनीतिक छलफल हुने र उक्त छलफलले दुई देशबीच एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पुर्‍याउने डा.महतले बताए ।