प्रदेश १ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा

प्रदेश १ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा

मौसमविद्गका अनुसार प्रदेश १ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ।

‘यतिखेर तेह्रथुम, सुंखवासभा इटहरी, उदयपुर, काभ्रे, मकवानपुर, धादिङमा वर्षा भइरहेको छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘समग्रमा प्रदेश १ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ।’

त्यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि छिटपुट वर्षा भइरहेको उनले जानकारी दिए।  ‘तर, अहिले वर्षा भइरहेका ठाउँमा पनि केही घण्टापछि पानी पर्न रोकिने संकेत देखिएको छ’, मौसमविद् प्रधानांगले भने। 

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले मौसमविद्का अनुसार बिहान १०/११ बजेदेखि दिनभरलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिक (धेरैजसो आकाश खुला, थोरै भागमा बादल) देखि सामान्य (धेरैजसो आकाशमा बादल, थोरै मात्र खुला)बदली हुनेछ।

 र, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

मौसमविद् राजु प्रधानांगका अनुसार यस क्रममा आज दिउँसो २ बजे आसपास काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। ‘तर यो सम्भावना निकै कम देखिएको छ’, उनले भने।

महाशाखाको बुलेटिनअनुसार आज राति (भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मं) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।’  

मनसुन बाहिरिने अझै छैन छाँटकाँट

मनसुन (वर्षा याम सुरु गराउने मौसमी प्रणाली) अझै केही दिन हट्ने छाँटकाँट नदेखिएको मौसमविद्ले बताएका छन्। 
नेपालबाट मनसुन बाहिरिने औसत मिति यही अक्टोबर २ तारिख हो। तर अझै कम्तीमा एक हप्तासम्म मनसुन बिदा हुने संकेत नदेखिएको मौसमविद् राजु प्रधानांगले जानकारी दिए। 

यस हिसाबले यसपालिको दसैं हिले हुने अनुमान गरिएको छ। मनसुन हटेपछि पोस्ट मनसुन भन्ने सिजन आउँछ र त्यसको केही हप्तापछि विन्टर अर्थात् हिउँद याम सुरु हुन्छ।