कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले २ जनाको मृत्यु, २ सयभन्दा धेरै सिकिस्त बिरामी

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले २ जनाको मृत्यु, २ सयभन्दा धेरै सिकिस्त बिरामी

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा धेरै बिरामी परेका छन्। 

कृष्णनगर नगरपालिकाको ७, ८ र ९ नम्बर वडाका विभिन्न गाउँमा विगत दुई दिनदेखि झाडापखालाको प्रकोप फैलिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

झाडापखालाबाट वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ९ का ५ वर्षीय बालक राज कश्यपको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए। कश्यपको स्थानीय क्लिनिक र केबटको उपचार अभावमा आफ्नै घरमा मृत्यु भएको स्थानीयले बताएका छन्।

नगरपालिका क्षेत्रको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला महामारीको रुपमा फैलिएको छ।

गाउँगाउँमा झाडा पखालाका बिरामी बढ्न थालेपछि कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य टोली परिचालन गरेको छ।

झाडापखालाबाट ग्रसित ५० भन्दा धेरै बिरामीको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचार भइरहेको स्वास्थ्य संयोजक भट्टराइले बताए।

गम्भीर अवस्थाका २३ जनालाई थप उपचारका लागि बुटवल र भैरहवा रेफर गरिएको छ । सात जना बिरामीका जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ।

झाडापखालाको कारण खुलेको छैन। ‘गाउँगाउँमा महामारीको रुपमा झाडापखाला के कारणले फैलियो हामी कारण खोजिरहेका छौँ,’ संयोजक भट्टराईले भने।

बिरामीमा बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने र कमजोरी हुने लक्षण देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

ल्याब परीक्षण नभएसम्म यकिन भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए। स्वास्थ्य कार्यालयले फरक(फरक ठाउँका ५ जना बिरामीको दिसा परीक्षणका लागि तौलिहवा अस्पताल पठाएको छ । ‘त्यसको रिपोर्ट आएपछि मात्र झाडापखाला फैलिनुको वास्तविक कारण थाहा हुन्छ,’ पाण्डेले भने।