टिकटक बनाउने बहानामा तीन ताेलाकाे सुनको सिक्री लुटेर फरार दुई युवती पक्राउ

टिकटक बनाउने बहानामा तीन ताेलाकाे सुनको सिक्री लुटेर फरार दुई युवती पक्राउ

प्रहरीले टिकटक बनाउने बहानामा सुनको सिक्री चोरेर भागेका दुई युवतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ती दुईजनालाई काठमाडौंको गोंगबुबाट सोमबार पक्राउ गरेको हो। 

ठगीको आरोपमा पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भई हाल काठमाडौं जडीबुटी बस्ने १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रेकै नमोबुद्ध घर भई हाल बानेश्वर बस्ने २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङ छन् । 

उनीहरूले सामाजिक सञ्जालबाट चिनजान भएका एक पुरुषबाट झण्डै तीन तोलाको सुनको सिक्री लिएर बेचेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। 

दोलखाको मेलुङ गाउँपालिका–४ घर भई काठमाडौंको बौद्ध बस्ने पुरुषलाई दुई युवतीले एयरपोर्ट बोलाएर त्यहाँबाट ट्याक्सी चढेर ललितपुरको चापागाउँ पुगेको र खाजा खानेक्रममा टिकटक बनाउने बहानामा सुनको सिक्री लिएर भागेको महाशाखाले जनाएको छ।

पीडित पुरुषले आफूलाई ठगी गरेको भन्ने जाहेरी दिएपछि प्रहरीले दुवै युवतीलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि युवतीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ ।