एक महिनापछि राप्रपाको एकता महाधिवेशन, कमल थापालाई अध्यक्ष जित्न मुस्किल

एक महिनापछि राप्रपाको एकता महाधिवेशन, कमल थापालाई अध्यक्ष जित्न मुस्किल

कुनै बेला तेस्रो शक्ति देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको ओरालो लाग्ने क्रम जारी छ । यही क्रममा राप्रपाको एकता महाधिवेशन आगामी कात्तिक २७ देखि ३०गतेसम्म हुँदै छ ।

महाधिवेशन आउन एक महिना हुनै लाग्दा राप्रपाको महाधिवेशनबारेमा त्यति चर्चा छैन । राप्रपामा आबद्ध कार्यकर्ताका अनुसार यस पटक कमल थापालाई अध्यक्षमा चुनाव जित्न धेरै नै कठिन छ । 

एक कार्यकर्ता भन्छन्, थापाको विरुद्ध पशुपति शमशेर राणा,डा.प्रकाशचन्द्र लोहनी मात्र नभई नेपालगन्जका धबलशमसेर राणा तथा झापाका राजेन्द्र लिङदेन पनि एक ठाउँमा उभिने अवस्था आएको छ । 

यद्यपि अहिलेसम्म अध्यक्ष पदमा ६ जनाले इच्छा देखाएका छन् । थापा, राणा, लोहनी, धवलशमसेर, लिङदेन र जगत गौचनले अध्यक्षमा उठ्ने चासो देखाएका छन् ।  अध्यक्ष पदमा सहमति हुन नसके आफू पनि चुनाव लड्ने इच्छा गौचनले कार्यकर्ताहरूसँग देखाउने गरेका छन् । 

राप्रपाका एक नेता भन्छन्, राप्रपाका अध्यक्ष थापाको भूमिकाप्रति अहिले पार्टीका धेरैजसो नेताहरूलाई चित्त बुझेको छैन । त्यसैले यस पटक थापालाई हराउनु पर्छ भन्ने मत बढ्दै गएको छ ।

 त्यसो त, पछिल्लो समयमा थापा एमाले अध्यक्ष कमल थापासँग धेरै निकट हुन थालेका छन् । हरेक मुद्दामा थापाले ओलीको बचाउ गर्ने गरेका छन्। ‘यो भनेको आउने चुनावमा ओलीले सहयोग गर्छन् कि भन्ने आशा हो’राप्रपाका अर्का एक नेताले भने । 

थापा ओलीसँग निकट भएका राप्रपाका अर्का अध्यक्ष राणा र लोहनीलाई पटक्कै मन परेको छैन । लोकतान्त्रिक शक्तिको हैसियतले काँग्रेस निकट हुनु पर्ने अडान राणा र लोहनीको छ । त्यसैले थापाविरुद्ध यस पटक ४ शीर्ष नेताहरूको मोर्चा बन्दी हुने सम्भावना बढेको छ, स्रोतले भन्यो । 

राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार अहिलेसम्म ४६ जिल्ला अधिवेशन भइसकेको छ । असोज २० सम्म सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्नु पर्ने कार्यतालिका राप्रपाले सार्वजनिक गरेको श्रेष्ठले बताए ।

 यो राप्रपाको एकता महाधिवेशन हो । राणा र डा. लोहनीले नेतृत्व गरेको दुई छुट्टाछुट्टै पार्टीसँग कमल थापाले नेतृत्व गरेको राप्रपाबिच एकता भए पछि पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो ।

 एकता महाधिवेशन हुनु अघि नै पार्टीभित्र गम्भीर विवाद सिर्जना भएको छ । पछिल्लो समय राप्रपाका केन्द्रीय तहका नेताहरूको पार्टी छाड्ने क्रम जारी छ । पार्टी छाड्नेहरू मध्ये अधिकांश राप्रपा अध्यक्ष थापासँग चिढिएका छन् ।