सरकारको गरिमालाई बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्छः लोसपा

सरकारको गरिमालाई बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्छः लोसपा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले छापा मारेका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने लोसपाको ठहर छ । 

संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा सोमबार बसेको पार्टी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतका काममाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला त्यसको जवाफ दिनुृको सट्टा मुख्यमन्त्री कार्यालयबाट त्यसलाई बलजफ्ती ढाकछोप गर्ने काम भएको लोसपाको ठहर छ । 

प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाको जिकिर छ । 

असोज २० गते बस्न लागेको प्रदेशसभाको बैठकमा लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने जनाएको छ । मुख्यमन्त्री राउतको राजीनामालाई मुख्य एजेण्डा बनाएर लोसपाले संसद अवरोध गर्ने तयारी समेत गरेको छ ।