काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले ८३ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।
कार्यकर्ता भेलालाई सम्बोधन डडेल्धुरा पुगेका नेता केसीले सोमबार नेपाल प्रेस युनीयन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफूहरुको कारणले सरकार गठनमा ढिलाई नभएको बरु गठबन्धन सरकारका कारण ढिलो भएको स्पष्ट पारे । अहिले देशमा कांग्रेसकै सरकार भएपनि ८३ दिनसम्म मन्त्रिपरिषद गठन हुन नसकेको अवस्थामा अब १०० दिन पूरा नभएसम्म यसै भन्न नसकिने बताए । उनले सरकारको अगाडी चुनौतीको महासागर मात्र नभई अवसरको पहाड पनि भएको उल्लेख गरे । सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको आफ्नै सक्ति सन्तुलन रहने हुनाले सबै निकायको आफ्नै गरिमा रहेको बताए ।
सरकारले कुनै पनि हालतमा न्यायपालिकामाथि हस्तक्षेप तथा प्रलोभन देखाउन नहुने बताए । नेकपा एमालेले सरकारको विरोध गर्नु पुरानो एकदलिय चिन्तन भएको उनले आरोप लगाए ।
त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले नेतृत्वले बाटो बिराएमा कार्यकर्ताले गल्ती औल्याउनुपर्ने बताए । जननायक विपी कोईरालाले सिकाएको कुरालाई आत्मसाथ गर्दे नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गर्नु स्वभाविक रहेको बताए । डडेल्धुराका कांग्रेसका नेता कार्यकर्ताहरुका लागि न्याय नपाएसम्म आफूहरुले केन्द्रदेखि जिल्लासम्म संघर्ष गर्ने समेत उल्लेख गरे ।