काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आगामी कार्तिक १५ मा फैसला सुनाउने भएको छ । आज ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले आगामी कात्तिक १५ मा फैसला सुनाउने मिति तोकेको हो ।
नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।
तत्कालीन मन्त्री परिषद् वैठकको निर्णयलाई आधारमा मानेर ललीता निवास जग्गा प्रकरणको हिनामीना प्रकरणमा नेपाल र भट्टराई विरुद्ध सर्वोच्चमा रिट परेको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वयमाथि पनि मुद्दा चलाउनुपर्ने आदेशको माग गर्दै रिट दायर गरेका थिए । इजलासले बहस नोट मगाउन पनि आदेश दिएको छ।