‘काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकै कारण विरोधीहरु चिन्तित बनेको टिप्पणी गरेका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको समापन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अहिले विरोधीहरु दुई कुराले चिन्तित भएको भन्दै उनले भने, ‘मान्छेहरू अहिले २ कुराले चिन्तित छन्, एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिरामी हुन्छ । अप्रेसन गर्छ । किड्नी फेर्छ । बिरामी भयो अब त मर्छ कि भन्यो, फेरी बाँच्छ ।’ उनले थपे, ‘अर्काे कार्यकर्ता र जनताले मलाई असाध्यै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । अब बाँचेकामै चिन्तित छन् त म के गरुँ ?’ उनले टिप्पणी गरे । ओलीले आफूहरुलाई माया गर्नेहरुको मायामा एक इन्च तलामाथि हुन नदिने वाचा गरे ।
गत चैतमा महाधिवेशन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने भनिएपनि प्रचण्ड–माधव समूहले कात्तिकमै आफूलाई हटाउने षडयन्त्र रचेको भन्दै उनीहरु नै पार्टी विभाजनको बाटोमा लागेको आरोप लगाए । उनीहरु एकीकरणको बाटो छोडेर पार्टी सिद्धाउनतिर लागेपछि आफूहरु प्रतिकारमा मात्रै उत्रिएको बताए । आफूहरुले तत्कालिन अवस्थामा जे गरियो त्यो सहि गरेको भन्दै संकटकालिन अवस्थामा जनता र कार्यकर्ताहरुले पार्टीलाई जोगाइदिएकोमा ओलीले धन्यवाद दिए । ‘यो पार्टी सग्लो हुनुको मुख्य हकदार तपाई कार्यकर्ताहरु हो’ ओलीले भने ।
ओलीले प्रचण्ड र माधव कुमार नेपालतिर इंिगत गर्दै एमालेको मुख्य दुष्मण भनेकै उनीहरु भएको आरोप लगाए । कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई बुझाउनलेहरु पार्टी र जनताका दुश्मन भएको बताए ।
ओलीले अहिले विधान महाधिवेशन ओलीमय भएको भन्ने विपक्षीहरुले लगायतको आरोपको खण्डन गर्दै उनले भने, ‘हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं, तर लिडरसिप हुन्छ । लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुन्छ । यो स्वाभाविक हो ।’