काठमाडाैं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमै प्रवेश गरेका छन् । दुई दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका लेखी गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट एमाले प्रवेश गरेका हुन् ।
लेखीसहितको ठूलो समूहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गरेका थिए । वामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।
एमालेमा रहँदा उनी काठमाडौं-सप्तरी सम्पर्क मञ्चको अध्यक्ष, एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीको सचिव, युवा संघ नेपालको केन्द्रीय सदस्य, युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग सदस्य, नेकपा एमाले केन्द्रीय समितिको संघीय मामिला विभाग र सम्पर्क विभाग सदस्य, एमाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गरेका थिए ।