अज्ञात समूहले अपहरण गरेका भारतीय नागरिकको नेपालमा उद्धार

अज्ञात समूहले अपहरण गरेका भारतीय नागरिकको नेपालमा उद्धार

राजविराज । भारतमा अपहरण गरी नेपाल ल्याइएका एक जना भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट सप्तरी प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ बर्षका शंकरकुमार साह उद्धार गरेको हो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले साहको उद्धार गरेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जनाएको छ । 

साहलाई अपहरण गरी सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । 

कोदरकट्टी नेपाल–भारत सीमा नजिकै पर्छ । साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचनाका आधारमा नेपालको प्रहरीले खोजी कार्य सुरु गरेको थियो । साहलाई उद्धार गरेको स्थानमा एक थान मोबाइल सेट पनि फेला परेको प्रहरीले जनाएको छ । साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।