काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको नेतृत्व केपी ओलीले गरिरहेकाले उनले माओवादीलाई अझै एक पटक सखाप पार्ने रणनीति लिएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जाली फटाहाहरुले आफूहरुलाई हेप्न खोजेको भन्दै आगामी निर्वाचनमा एमालेसँग प्रतिवाद नगरी चुनाव नजितिने समेत उल्लेख गरे । उनले भने, ‘एमालेले अब डेढ वर्षभित्र सरकारले जाने बताएको छ, हामीले देशैभरि उनीहरुको प्रतिवाद गर्न सक्नुपर्छ ।’ उनले थपे, ‘हामीलाई हेप्न खोज्नेहरुको सातो खानुपर्छ ।’ प्रचण्डले एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।
एमाले विरुद्ध लड्न अध्यक्ष प्रचण्डले भने, ‘हामीले बनाएको हो संविधान, छाती खोलेर भन्नुस् ।’ उनले थपे, ‘यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।’
ओलीले छलकपटको बाटो रोजेपछि तत्कालिन नेकपामा उनीविरुद्ध उत्रिनु परेको बताए । एमालेसँगको सहकार्य सही भएपनि ओलीको जालझेलका कारण पार्टीभित्र नै विद्रोह गर्नुपरेको उल्लेख गरे । पछिल्लो समय शेर बहादुर देउवालाईं प्रधानमन्त्री बनाउन पनि निकै दुःख गर्नुपरेको बताए ।