काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षडयन्त्र भइरहेकाले अब नयाँ खाले जनयुद्धको खोजी गर्नुपर्ने बताएका छन् । प्रतिक्रियावादीहरुले आफूहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले हिजोसँगै लडाइँ लडेकाहरु प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने बेला भएको बताएका छन् । उनले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरुलाई एक जुटहुन आह्वान गरे ।
प्रचण्डले लाखौं जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए । माओवादी जनयुद्धलाई विद्रुपीकरण गर्ने, भ्रष्टीकरण गर्ने, विर्सजित गर्ने षड्यन्त्रहरु भइराखेकाले त्यसका विरुद्ध एक हुने उपायहरुको खोजी गर्नु सबैभन्दा बुद्धिमानी हुने उनको ठहर छ ।