तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन् । पार्टीमा पुस्तान्तरणको बहस चलिरहेका बेला नेता पौडेलले भने त्यो आवश्यक नभएको तर्क प्रस्तुत गरेका हुन् ।
पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका नेता पौडेलले नेतृत्व लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका छन् । उनले भने, ‘पार्टीमा अहिलेको आवश्यकता भनेको रुपान्तरण हो, रुपान्तरण भए पुस्तान्तरणको बहस नै चल्ने थिएन ।’
पार्टी कसरी चलिरहेको छ भन्ने मुख्य विषय भएको भन्दै उनले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यक नहुने बताए ।
पार्टीमा सबै संगठनहरू परिचालन हुनुपर्ने र पार्टी विचारबाट संचालन हुनुपर्ने बताए । उनले त्यसो भएमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरे पुस्तान्रणको बहस नै नहुने बताए । उनले युवा साथीहरुलाई पनि पुस्तान्तरणको आवश्यक नभएकाले भ्रममा नपर्न सुझाव दिएका छन् ।