१८ महिनादेखि रोक लगाइएका भारतीय सवारी आजदेखि नेपाल आउन पाउने

१८ महिनादेखि रोक लगाइएका भारतीय सवारी आजदेखि नेपाल आउन पाउने

काठमाडौं । अठार महिनादेखि नेपालमा रोक लगाइएका भारतीय सवारी साधन भन्सार महसुल बुझाएर आउन पाउने भएका छन्। यो सुविधा शुक्रबारदेखि भारतीय यातायात व्यवसायीले पाउने भएका हुन्। कोभिड-१९ को पहिलो लहर २०७६ साल चैत १ गतेदेखि नेपाल(भारत सीमा पानीट्यांकी नाकाबाट अत्यावश्यकबाहेक भारतीय सवारी साधन नेपाल प्रवेश गर्न पाएका थिएनन्। यो नियम दुबै देशहरूका अधिकारीले १८ महिनादेखि पालना गरेका थिए।

भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार महसुल बुझाएर निर्वाध रुपमा नेपालमा घुम्न पाउने मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ। नेपाल सरकारले शुक्रबारबाट भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि नियम अनुसारको राजस्व बुझाएर नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए।

उनका अनुसार लामो दुरीमा भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र छोटो दुरीमा सुविधा लिनेछन्।