धवलागिरिको सफल आरोहण गरेर पूर्णिमाले राखिन् नयाँ रेकर्ड

धवलागिरिको सफल आरोहण गरेर पूर्णिमाले राखिन् नयाँ रेकर्ड

म्याग्दी । संसारको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन्। आठ हजार १६७ मिटर उचाईको हिमालमा हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्। काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा पुगेकी थिइन्।    
    
सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५स्०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए। “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्”, उनले भने, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।”    
    
श्रेष्ठसँगै पुगेकी माया शेर्पालगायतले आरोहण गरेनगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्।    
    
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला टोली हुन्। पथप्रर्दशक पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्।