स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज छैनः गृह मन्त्रालय

स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज छैनः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले बिहीवार जारी गरेको आदेशको विषयमा सार्वजनिक रुपमा अभिव्यक्त चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। गृहले नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।’

बिहीवार उपत्यकाभित्रका तीन वटै जिल्लामा कोभिड संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आदेश जारी गरेका थिए। जसअनुसार कुनै पनि भिडभाड हुने कार्यक्रमहरु सभा, सम्मेलन, जुलुस, जात्रा महोत्सव गर्न नपाइने आदेश जारी गरिएको थियो।