काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) वैधानिक नभएको भन्दै उक्त पार्टीलाई सरकारमा सामेल नगरे आफूहरु वार्तामा आउने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठकपछि बोल्दै सांसद अधिकारीले नेकपा एकीकृत कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गरे उनले एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेर बहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग भेटेर छलफल गर्नुपर्ने बताए ।
उनले यसअघि पनि ज्ञानेन्द्र बहादुर कार्कीलाई ‘तपाइहरु एमालेको अवरोध हटाउन चाहनु हुन्छ भने प्रधानमन्त्री र सभामुखले प्रतिपक्ष संसदीय दलका नेतासँग भेटेर छलफल गर्नु भन्नुस्, किन निहु खोज्नु ?’ भन्ने धारणा राखेको उल्लेख गरे ।
अधिकारीले एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताएका छन् । उनले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर एमालेले कुनै पनि नराम्रो कार्यमा सहभागी नहुने जनाए । तर उक्त अवैधानिक पार्टीलाई सरकारमा सहभागी नगराए नेकपा एमाले वार्तामा आउन सक्ने उनले बताए ।