एमालेको ‘विधान महाधिवेशन’ भोलिदेखि सुरु, तयारी पूरा

एमालेको ‘विधान महाधिवेशन’ भोलिदेखि सुरु, तयारी पूरा

काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन भोलि शुक्रबारबाट सुरु हुँदैछ । एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमार्फत समितिले दिएको जानकारी अनुसार विधान महाधिवेशन भोलि दिउँसो १२ ः १५ बजेबाट सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । 

ललितपुरको सनराइज हलमा हुन लागेको सो सभामा अध्यक्ष ओलीलगायत ओली लगायत नेताहरुले सम्बोधन गर्नेछन् । 

उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ गते समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुने तयारी गरिएको समितिले जनाएको छ । 

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त पार्न स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश वस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाङ शेर्पा सदस्यका रुपमा रहेका छन् ।

एमालेको विधान महाविधेशनमा ५ हजार भन्दाबढी प्रतिनिधि, प्रवेक्षकहरुको सहभागिता हुने शेरबहादुर तामाङले बताए । जिल्ला, निर्वाचन क्षेत्र, केन्द्रीय कमिटी, विभाग, निकाय सबै कमिटीका गरी पाँच हजार भन्दा बढी सहभागी हुने लक्ष्य लिइएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै एमालेको विधान महाधिवेशनमा सिङगो केन्द्रीय कमिटी, केन्द्रीय विभाग, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी पदाधिकारी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत सहभागी हुने तामाङले बताए ।