महिला हत्या आरोपमा वडाध्यक्ष पक्राउ

महिला हत्या आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुरधाम । सडक विस्तारका क्रममा एक स्थानीय महिलालाई कुटपीट गरी हत्या गरेको अभियोगमा धनुषाको वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

सबैला नगरपालिका ४ की स्थानीय सुमित्रा देवी यादवको हत्या अभियोगमा सोही वडाका वडाध्यक्ष कुशेश्वर ठाकुर ‘पथला’लाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो । पथलासहित अन्य १० जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

गत वैशाख १३ गते सडक विस्तारका क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रञ्जित यादव कुटपीटबाट गम्भिर घाइते भएका थिए । सुमित्राको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि परिवारजनले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमा किटानी जाहेरी दिएका हुन् ।

मुद्दाको अनुसन्धानका क्रममा मोरङ प्रहरीले धनुषाको ईलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएको थियो । इलाका प्रहरी कार्यालय सबैलाबाट मुद्दा आएपछि वडाअध्यक्ष आफै प्रहरी थानामा उपस्थित भएको प्रहरीले जनाएको छ । वडाअध्यक्षविरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।