जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्। सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय बुझेका थिए।
जसअनुसार सोनलको पक्षमा ९ सांसदले मत दिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिए। एक जनाले तटस्थ बस्ने बताएका थिए। त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदबीच सुनाएका थिए।
यसअघि आइतबार नै दलको नेता चुन्ने प्रयास गरिएको भएपनि आन्तरिक विवादले सफल हुन सकेको थिएन ।
सोनल यसअघि साविकको राजपा नेपालको पनि प्रदेश २ संसदीय दलको नेता थिए। उनले प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए।