को-को बन्दैछन् एकीकृत समाजवादीबाट मन्त्री ?

को-को बन्दैछन् एकीकृत समाजवादीबाट मन्त्री ?

सत्ता गठबन्धनले तत्काल मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेपछि दलहरु मन्त्री छान्ने गृहकार्यमा जुटेका छन् । आफ्नो पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएकोले नेकपा (एकीकृत समाजवादी) सरकारमा जान आनाकानी गरिरहेको थियो । तर सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिन अश्वीकार गरेपछि गत शुक्रबार नै अध्यक्ष माधव नेपालले सरकारमा जान तयार रहेको बताएका थिए । 
 
आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा यसै साताभित्र सरकार विस्तारमा गर्ने सहमति जुटेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने बताएकोले गठबन्धनले प्रधानमन्त्री देउवालाई अध्यादेश खारेज गरेर मन्त्रीपरिषद् विस्तार गर्न सुझाव दिएको थियो । 

यसैबीच एकीकृत समाजवादीले भने मन्त्री छनौटका विषयमा आन्तरिक छलफल सुरु गरेको छ । एकीकृत समाजवादीले पदाधिकारीमा नअटाएका नेताहरुलाई सरकारमा पठाउने प्राथमिकतामा राखेको छ । यसकारण यसअघि मन्त्री बन्ने सूचीमा रहेका  मुकुन्द न्यौपाने र बेदुराम भुसाल सरकार नजाने भएका छन् । एकीकृत समाजवादी निकट स्रोतका अनुसार  भुसाल चाहिँ पार्टीको महासचिव भइसकेका कारण पनि मन्त्री बन्ने लिष्टबाट हटेका छन् । 

पदाधिकारीमा नअटाएका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, गरिमा शाह मन्त्री बन्ने लिष्टको पहिलो नम्मरमा रहेका छन् । त्यसैगरी ओलीको साथ छोडेर नयाँ पार्टीमा आएका  नेता प्रेम आले र  किसान श्रेष्ठलाई पनि माधव नेपालले मन्त्री बनाउन चाहेका छन् । 

यीबाहेक मेटमणि चौधरी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, केशवलाल महर्जन, भवानी खापुङ, कल्याणी  खड्का, सरला यादव, पुष्पा कर्ण, पार्वती विशंखेलगायत पनि मन्त्री बन्ने आकाँक्षामा छन् । एकीकृत समाजवादीले  ५ मन्त्री र  एक राज्यमन्त्री पाउने भएको छ ।