इजरायलको केयरगभरका लागि १६ सय छानिए

इजरायलको केयरगभरका लागि १६ सय छानिए

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदारका लागि एक हजार ६०० जना सिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट उनीहरूलाई छनोट गरेर सिफारिस गरेको हो । 

अन्तर्वार्ताका लागि एक हजार ८०३ जना उम्मेदवार सहभागी भएका थिए । तीमध्ये एक हजार १२० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन् । उनीहरूमध्ये सात जना महिला र ३०० जना पुरुषलाई अन्तिम छनोटका लागि इजरायल पठाइनेछ । 

नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) ले एक हजार जना कामदार छनोट गर्नेछ । 

गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना सहभागी हुन योग्य ठहरिएका थिए ।

भदौ २८ गते भएको भाषा परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ हजार ३९ जना पास भएका थिए । अब सिफारिसमा परेकाहरूलाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ । इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ ।  

सुरुमा एक वर्षको करार र ५ वर्षसम्म थप गर्न सकिनेछ । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ ।