माधव नेपाल छाडेका एमालेका नेताहरुले अवसर पाएनन्, टोली नेतामा ओली पक्षकै वाहुल्यता

माधव नेपाल छाडेका एमालेका नेताहरुले अवसर पाएनन्, टोली नेतामा ओली पक्षकै वाहुल्यता

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका नेताहरुलाई अवसरबाट बन्चित गरिएकोछ ।

शुक्रबारबाट जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूह बनाएर गरिएको छलफलको निष्कर्ष सुनाइदा नेपाल छोडेर आएका नेताहरुलाई कुनै अवसर नदिइ बन्चित गरिएको हो ।

शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिए पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल प्रारम्भ गरिएको थियो । तर, १० वटा समूहमा नेपाललाई छाडेर आएका नेताहरुलाई समेटिएको छैन् ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो ।

 तर, दशवटै समूहको टोली नेता चयन गर्दा नेपाल छाडेर आएकाहरुलाई बन्चित गरिएको बैठकमा सहभागि एक नेताले बताए । टोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र राखिएको छ ।

जस अनुसार प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना र कर्णालीबाट यमलाल कँडेल टोली नेता चयन भएका छन्।

सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

नेकपा एमालेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसालले नेता नेपालको साथ छाडेर ओलीसँगै पुगेका छन् । 

त्यस्तै सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले नेपाल समूह छाडिसकेका छन् ।