पार्टीले पूर्णता नपाउँदै लोसपामा विवाद सुरू, दलको नेतामा ठाकुर र महतो दुबैको अडान

पार्टीले पूर्णता नपाउँदै लोसपामा विवाद सुरू, दलको नेतामा ठाकुर र महतो दुबैको अडान

जनता समाजवादी पार्टीबाट विभाजित भइ हालै गठन भएको  लोकतान्त्रिक समाजवादी पार्टीमा दलको नेतालाई लिएर विवाद सुरू भएको छ । प्रतिनिधि सभामा १३ जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । तर दलको नेतामा महन्थ ठाकुरलाई मान्ने कि राजेन्द्र महतोलाई निर्वाचित गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद सुरु भएको छ ।

जनता समाजवादी पार्टी फुटेर बनेको लोसपाले जसपा फुट्न अघि ठाकुर-महतो पक्षधर सांसदहरूले भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा गई राजेन्द्र महतोलाई दलको नेता घोषणा गरेका थिए । अहिले भने दलको नेता को हुने भन्नेमा समेत विवाद सुरू भएको बताइएको छ ।

महतो निकट सांसदहरूले पहिलेको परम्परालाई कायम गर्नु पर्ने अडान राखेका छन् तर महन्थ ठाकुर निकट सांसदहरू भने महतो निकट कार्यकारिणी सदस्य तथा सांसदहरू कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेकोले लोसपामा महतोलाई दलको नेता घोषणा गर्नु पर्ने आवश्यक नभएको तर्क राखेका छन् । महतो निकट ३ जना सांसदहरू कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर गएका छन् । 

स्रोतका अनुसार महतो निकट सांसद तथा कार्यकारिणी सदस्यहरूले कित्ता परिवर्तन गरेको कारण पनि दुई वा दुई भन्दा बढी अध्यक्ष राख्ने परम्परालाई यो पटक लोसपामा लागु गरिएन । ठाकुरलाई एकल अध्यक्ष बनाइएको छ भने महतोको मर्यादा दोस्रो नम्बरमा राखिएको छ । ठाकुर अध्यक्ष भएपछि आफू दलको नेता बन्न पाउनुपर्ने महतोको अडान  रहेको छ ।