कांग्रेसको गाउँ-नगर अधिवेशन आजबाट शुरू भएको छ । काठमाडौं, ललितपुर लगायतका जिल्लामा भने वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ। काठमाडौंका पालिकामा १६ गते अधिवेशन हुने भएको छ। ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ। प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ।
काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीचमा विवाद हुँदाहुँदै गाउँर नगर अधिवेशन हुने भएको छ। जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेका छन्। निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले गाउँरनगर अधिवेशन अनिश्चितकालका लागि रोकेको उनले सूचना जारी गरेका थिए।
निर्वाचन अधिकृत लामिछानेले आफू बेपत्ता नभएको सामाजिक सञ्जालमा शुक्रबार अबेर लेखेका छन्। अधिवेशनका लागि खटिरहेको उनले बताए।निर्वाचन समिति वा केन्द्रीय समितिले स्थगित गरे मात्रै अधिवेशन रोकिने भएकाले आचार्यले स्थगित गर्न खोजेर काभ्रेको पालिका अधिवेशन नरोकिने भएको छ।
पार्टी शीर्ष नेताको बैठकले वडा अधिवेशन सकिएका जिल्लाको गाउँ र नगर अधिवेशनको मिति तोक्ने अधिकार निर्वाचन समितिलाई दिएको छ। १३ जिल्लाको भने क्रियाशील सदस्यता नै टुङ्गो लागेको छैन। हिमाली २१ जिल्लामा जिल्ला तहका सबै अधिवेशन असोज १८ अघि सक्ने निर्णय गरिएको छ।