काठमाडौं । कांग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको बैठकले ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले २१ हिमाली जिल्लामा दशैअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर हाललाई वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको हो ।
प्रवक्ता शर्माले १३ जिल्लाका क्रियाशील सदस्यको सूची पनि चाँडै नै सार्वजनिक हुने बताए । केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उल्लेख गरेका छन् । त्यस्तै क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति नजुटेकाले कांग्रेसको वडा अधिवेशनहरु समेत प्रभावित बनेको शर्माले बताए ।