कहाँ अड्कियो मन्त्रिपरिषद् विस्तारको 'हलो' ?

कहाँ अड्कियो मन्त्रिपरिषद् विस्तारको 'हलो' ?

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीले बनेको सवा २ महिना कटिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । ५ मन्त्रीको भरमा राजकाज चलाईरहेका देउवाको कार्यशैलीलाई लिएर जनस्तरबाटै आलोचना सुरु भएपछि सत्ता गठबन्धन तत्कल केही मन्त्री थप्ने भन्दै सक्रिय भएको थियो । गत बुधबार र विहीबार बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डामा सहमति जुटाए पनि मन्त्रिपरिषद् विस्तार भने हुन सकेको छैन । 

गठबन्धनको कार्यदलमा कांग्रेसलाई प्रधानमन्त्रीसहित ७, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई ५ र जसपालाई ४ मन्त्रालय दिने सहमति भएको छ । वाँकी ३ मन्त्री सहमतिमै बाडिने भएको छ । तर हाल गठन भएको लोसपा पनि सरकारमा जाने भएको खण्डमा यो संख्या हेरफेर हुने भएको छ ।  

प्रधानमन्त्री देउवाले तत्काल मन्त्रीको नाम दिन बैठकमा आग्रह गरेको भएपनि दल विभाजनसम्वन्धी अध्यादेश निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक नल्याएसम्म जसपाले सरकारमा सहभागी नहुने बताएपछि मन्त्रीपरिषद् विस्तारले मुर्त रुप पाउन सकेको छैन । यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफूहरुविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकोले तत्काल प्रतिस्थापन विधेयक ल्याउन नहुने बताउँदै आएका छन् । गठबन्धनमै रहेका यी दुई दलको विरोधाभास कुराले नै मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । 

जसपा दसैं अगाडि सरकरामा सहभागी हुन नसक्ने देखिएपछि तत्काललाई पुनः काँग्रेस र माओवादीबाट केही मन्त्री थप्नेबारे गठबन्धनका शीर्ष नेताहरुबीच कुरा चलिरहेको बतइन्छ । तर देउवाले एकतर्फी रुपमा परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेपछि काँग्रेसको पौडेल पक्ष रुष्ट बनेको छ । तत्काल मन्त्रीको नाम दिन पौडेलले आनाकानी गरेपछि मन्त्रीपरिषद् विस्तार थप अन्यौलमा परेको बताइन्छ ।