लगभग–लगभग समाधानको अन्तिम विन्दुमा आयौँ : गोकर्ण विष्ट

लगभग–लगभग समाधानको अन्तिम विन्दुमा आयौँ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलका एकजना सदस्य गोकर्ण विष्टले विवाद समाधानोन्मुख रहेको बताएका छन् । आज सिंहदरबारमा बसेको कार्यदलको बैठक आजै बेलुका ७ बजे बस्ने गरी स्थगित गरिएपछि बाहिरिनेक्रमा उनले यस्तो बताएका हुन् ।

कार्यदलमा नेता माधवकुमार नेपाल पक्षका तर्फबाट सदस्य रहेका विष्टले छलफलमा हिजोभन्दा थप प्रगति भएको बताए ।“हिजोभन्दा थप प्रगति भएको छ । लगभग–लगभग समाधानको विन्दुमा आएका छौँ,” उनले भने, “आज बेलुका धेरै हदसम्म समाधानमा पुग्ने प्रयास जारी छ ।”

कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका तर्फबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । ओलीपक्षीय नेताहरु अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्तरिक परामर्शमा छन् ।