निर्वाचन आयोगद्धारा जसपा विवाद समाधान गर्न इजलास गठन

निर्वाचन आयोगद्धारा जसपा विवाद समाधान गर्न इजलास गठन

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद समाधान गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ । बुधबार जसपाका नेताहरु र आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा बसेको बैठकले इजलास गठन गरेको हो । इजलास गठनसँगै अब कुनै आयुक्त अनुपस्थित भएमा पनि इजलास गर्न बाधा नपर्ने भएको छ ।

उक्त इजलासले सुनुवाइका लागि आगामी ३ साउनमा जसपाका दुवै पक्षलाई बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आफ्नो पक्षलाई आधिकारिता दावी गर्दै आयोगमा निवेदन दिएका थिए । ऐनअनुसार दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ ।