नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल ब्युँतिएको छ । आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले छलफल गरेसँगै कार्यदललाई औपचारिक रुपमा ब्युँताइएको हो । कार्यदल ब्युँतिएसँगै यसअघि अनौपचारिक रुपमा भएका वार्तामा तयार मस्यौदालाई आधार मानेर सोमबारबाटै सहमति जुटाउने प्रयास थाल्ने नेताहरुले बताएका छन् ।
कार्यदल ब्युँतिएसँगै सोमबार साँझ कार्यदलको औपचारिक बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको एक नेताले जानकारी दिए । उनका अनुसार अव एमाले एकता नयाँ ढंगले सुरु हुनेछ । कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।
सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । अव दुवै पक्षले अदालतको फैसला मानेर पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ । आजको बैठकले संयुक्त वक्तव्यको ड्राफ्ट जारी गर्ने सम्भावना रहेको बताइएको छ ।